मन्त्रालयद्वारा हुम्लाका दुई पालिकामा वरिष्ठका आधार प्रशासकीय अधिकृतको जिम्मेवारी तोकियो

हुम्ला– हाल गाउँपालिकामा कार्यरत मध्य बरिष्ठका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृत खटाउन थालेकाे छ। दुई महिनादेखि स्थानीय तह प्रशासकीय अधिकृत बिहीन अवस्थामा रहेको भन्दै मन्त्रालयले यो उपाय अवलम्वन गरेको हो।

मन्त्रालयका सचिव रविलाल पन्थले देशभर निमित्त प्रशासीय अधिकृत रहेका स्थानीय तहमा नयाँ कर्मचारी जिम्मेवारी दिन सुरु भएको बताए।

उनले अर्को ब्यवस्था नहुँदासम्मका लागि हाल सम्वन्धित स्थानीय तह मै कार्यरत मध्य बरिष्ठ अधिकृतलाई निमित्तको जिम्मेवारी दिएर खटनपटन सुरु भएको बताए। यसको सुरुवात देशका अन्य स्थानीय तहमा सुरु भए जस्तै हुम्ला जिल्लामा पाँच वटा गाउँपालिका मध्य दुई वटामा पनि निमित्त प्रशासकीय अधिकृत खटाउने कार्य भएको मन्त्रालयले जनाएको छ। जसमा केही समय अगाडी सर्केगार्ड गाउँपालिकामा बरिष्ठका रुपमा कष्णकिशोर आचार्यलाई अर्को ब्यवस्था नभएसम्मका जिम्मेवारी दिईएको छ भने सिमकोट गाउँपालिकामा पनि शुक्रबार मन्त्रालयले परिपत्र पठाउदै हाल गाउँपालिकामा कार्यरत बरिष्ठ अधिकृत वर्षबहादुर फडेरालाई जिम्मेवारी तोकिएको छ।

उनी हाल गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखका रुपमा काम गर्दै आएका छन्। त्यसैगरि अब चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाको समस्या पनि यसरी नै समाधान गरिने मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रालय सिमकोट र सर्केगार्ड गाउँपालिकामा खटाएका अधिकृत हुम्ला आउन नमानेपछि मन्त्रालय यो उपायमा जान बाध्य भएको हो। स्थानीय तहहरुले नयाँ ब्यवस्था गर्न वा पुरानालाई नै तत्कालका लागि जिम्मेवारी दिन अनुरोध गरे पनि मन्त्रालयले त्यसलाई इन्कार गरेर गाउँपालिकामा कार्यरत बरिष्ठलाई जिम्मेवारी दिने काम सुरु गरेको हो।