दशौं राष्ट्रिय खेलकुदको मिति नसार्न मुख्यमन्त्री यमलाल कडेलको आग्रह

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता को मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले आग्रह गरेका छन् । राखेपको दशौं प्रतियोगिता मूल आयोजक समितिको आज काठमाडौँमा सम्पन्न बैठकमा मुख्यमन्त्री कडेलले पटक पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौल बनाएकोले जनविश्वास गुमेको बताए ।

यस अघि राखेपले गत मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो। भने, त्य‍ो मिति सार्दै चैत्र २३ देखि ३० गतेसम्मका लागि तोकेको थियो । पुन राखेपले प्रतियोगिता जेठ ३ देखि १० गतेसम्मको मिति तय गरेको छ। यसरी पटक–पटक मिति सरे पछि आजको बैठकमा मुख्यमन्त्री कडेलले जेठ भन्दा पर जान नसकिने धारणा राखेका हुन् । मुख्यमन्त्री कडेलले भने, ‘अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन तर, त्यो भन्दा पर जान सक्ने स्थिति छैन ।’

गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन अर्थात् २०७९ साल कार्तिक २ गते बसेको राखेपको ११५ औं बोर्ड बैठकले दशौं राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको थियो।