सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोह गर्दैछ। फागुन २३ गते शुक्रबार बिहान ११ बजे सुर्खेत स्थित केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा गर्ने जनाएको छ।
उक्त समारोह बाट ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित हुँदैछन् । मंगलवार पत्रकार सम्मेलनमा ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन एवम् समारोहका संचार तथा प्रचार-प्रसार उपसमिति संयोजक सह प्रा.डा. लीलाधर तिवारीले दीक्षान्त समाराेहमा दीक्षित हुनका लागि ८ सय ८५ जना विद्यार्थीले प्रत्यक्ष रूपमा सहभागिता जनाउने जानकारी दिए।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता रहने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईको समुपस्थितिमा कार्यक्रम सम्पन्न हुने विश्वविद्यालयले जानकारी दिएको छ। यस समारोहमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्।
स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीन जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट तीन जनालाई उपकुलपति पदक प्रदान गरिनेछ। त्यस्तै, स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गर्नेछन्।
ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेस, ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्ट, ग्य्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नाेलाेजी, ग्य्राजुएट स्कुल अफ इञ्जिनियरिङ, ग्य्राजुएट स्कुल अफ लका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहका विद्यार्थीहरु दीक्षित हुने आयोजकले बताएको छ।
कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिए।