मौलिकता झल्काउने फागुन १२ को चैतलो पर्व सुरु

सुर्खेत । मनोज बोहरा,  हिमाली जिल्ला हुम्लाको केही समुदायमा फागुन १२ गते देखि लाग्ने चैतलो (देउडा) पर्व आजबाट सुरु भएको छ। विशेष गरि सिमकोट गाउँपालिका–१,२,५,६ वडा साविक ठेहे र सिमकोट गाविसमा लाग्ने मेला परावूर्व कालदेखि २ दिन सम्म मनाउँदै आएको पाईन्छ ।

लोग्ने हुने महिलाहरुले परम्परागत पहिरन घाँग्रो चाँदी, सुनका गहनाका साथमा सजिएर भुवाखाड, चौपाडिमा गई चैतलो खेल्ने गरिन्छ। भने पुरुषले पनि च्यालक, बख्खु, उनिउको कम्मल लगायतका परम्परागत पहिरनका साथमा राजा रानि, मान्या खेल्ने गर्दछन्।

खर्पेलगाउँको चोलाखार भन्ने ठाउँबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो खेलिरहेको समयमा लुभ्यारु (अगाडी) लागेकि महिलालाई भगाएर लगेको पुर्खाहरुले बताउछन्। राक्षसले महिलालाई फेरि पनि भगाउन नपाओस् भनि राक्षस भुलाउन भन्दै चैतलो खेलिरहेकै समयमा पुरुषहरुले फोहर कपडा लगाइ खरानी बोकेर छर्कदै रमाईलो गर्ने गरेको बुझिन्छ । जसलाई धाङ्च्या नाच पनि भनिन्छ।

दुई दिनसम्म लाग्ने चैतलो पर्वको पहिलो दिन चैतलो, धान्च्या, मान्या, राजा रानी र छेलो हान्ने प्रतियोगिता गरिन्छ । भने दोस्रो दिनमा काठको सामाग्रीबाट बनाइएको घोड (घोडा चडेर) नृत्य पनि गरिन्छ । साथै बोहरा र भण्डारी थर बिच माने नाच प्रतियोगिता गर्ने गर्दछन्।

पहिले पहिले छेलो हान्नका साथै चैतलो हेर्नका लागि विभिन्न गाउँबस्तीबाट दर्शकहरुको अत्याधिक भिडभाड हुने गर्दथ्यो । तर अहिले बाहिर गाउँबाट पनि नआउने र गाउँवासीहरु गाउँ बाहिरबाटै नजाने हुदा चैतलो पर्व लोप हुने अवस्थामा पुगेको छ।