बाईस दिनकी सुत्केरी छत्यालको हेलिकोप्टरबाट उद्धार

सिमकोट । सुत्केरी भएको बाईस दिन पुगेकी अदानचुली गाउँपालिका– ५ की झुपा छत्यालको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बिहीबार एक्कासी उच्च रक्तचापको कारण बेहोस अवस्थामा स्वास्थ्य चौकी ल्याएको र त्यहाँ निजको उपचार हुन नसक्ने भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

सुत्केरी छत्यालको शुक्रबार बिहान हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको छ । २० वर्षकी छत्याललाई सुत्केरी भएको बाईस दिनपछि उच्च रक्तचाप भएपछि स्वास्थ्य चौकीको सिफारिस अनुसार जिल्ला अस्पतालद्धारा स्थानीय प्रशासन मार्फत सुत्केरी छत्याललाई प्रदेश अस्पताल सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताईन । बिहीबार राती साँढे आठ बजे सुत्केरी छत्याललाई बेहोस श्रीनगर स्वास्थ्य चौकीमा ल्याएको र उनको अवस्था निक्कै जटिल देखिएपछि हेलिकोप्टरमा उत्द्धार गरिएको उनले बताईन । यसका लागि हेलिकोप्टरको ब्यवस्था राष्ट्रपति महिला उत्थान कार्यक्रमले आर्थिक सहयोग गर्नेछ । चालु आर्थिक वर्षको साउन महिनायता अदानचुली गाउँपालिकाबाट यो सहित चार जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।