हुम्ला | राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको एक मात्रै हुम्ला जिल्लामा अझै हवाई टिकटको समस्या हुने गरेको छ । विगतका वर्ष झैँ यो वर्ष पनि दसैँ, तिहार सकिए लगतै जिल्ला बाहिर र भित्रिने यात्रुको संख्या बढ्दो क्रममा छ । सदरमुकाम सिमकोटदेखि जिल्ला बाहिर सुर्खेत र नेपालगञ्ज झर्नका लागि सर्वसाधारण त के रु विरामी र असक्त यात्रुले समेत टिकट सहजै रुपमा पाउन सकेका छैनन् ।
जसको प्रभाव विरामी, विद्यार्थी, जेष्ठ नागरिक, सुत्केरी महिला, अपङगता भएका व्यक्तिहरूमा परेको छ । विगतका वर्षदेखि हुम्लाका लागि उडान भर्दै आएका हवाई कम्पनीले पटक÷पटक लाइन मार्फत टिकट वितरण प्रक्रिया सञ्चालन गर्ने भनिएता पनि पछिल्लो समय नेपाल एयरलाइन्स बाहेक अन्य कुनै पनि एयरलाइनसहरूले त्यो नियमलाई कार्यन्वयन गरेका छैनन् ।
यस अघि नेपाल एयरलाइन्सले भने हप्ताको दुईदिन सोमबार दुई फलाइट, सुर्खेत र नेपालगञ्ज उडान भरेको थियो भने मङगलबार नेपालगञ्ज मात्रै उडान भर्दै आएको थियो । तर सो एयरलाइन्सले पनि गत तीन हप्तादेखि यता सोमबार सुर्खेतको फलाइट कटाएर नेपालगञ्ज एक फलाइट मात्रै गर्ने गरेको छ ।
त्यस्तै हुम्लामा आफ्नो पायक परेपछि मात्रै नियमित उडान भर्दे आएका अन्य हवाई जहाजले हप्तामा एक पटक एक फलाइट उडान भर्दै आएका छन भने सीता एयरले भने कम्तिमा पनि तीन फलाइट गर्ने गरेको छ । पहुँचका भरमा टिकट वितरण गर्दा विरामी लगायतका सर्वसाधारण मर्कामा परेका छन् ।