रामदेव मा.वि.मा वि.व्य.स. गठन, नरबहादुर भण्डारी अध्यक्षमा निर्वाचित

हुम्ला । सिमकोट गाउँपालिका–२ मा अवस्थित रामदेव माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन गरिएको छ। गाउँपालिकाले तोकेको समयसिमा भन्दा ६ दिन ढिलो गरी सम्पन्न निर्वाचनबाट नर बहादुर भण्डारी अध्यक्षमा निर्वाचित भएका छन्।

शनिबार सम्पन्न मतदानमा भण्डारीले ५६ मत प्राप्त गर्दै ५ मतले विजयी भएका हुन्। भने प्रतिद्वन्द्वी राम भण्डारीले ५१ मत प्राप्त गरेका थिए। कुल १०७ अभिभावकले मतदान गरेको हुन्। विद्यालयका शिक्षक दीपेन्द्र भण्डारीका अनुसार, अन्य सदस्यहरू भने सर्वसम्मत रूपमा चयन गरिएको हो।

नयाँ वि.व्य.स.मा सिंह बोहोरा सदस्य, हजारी सार्की दलित महिला सदस्य, रमा बोहरा र नौरती बोहरा महिला सदस्यका रूपमा चयन भएका छन्। वडाध्यक्ष देवजङ्ग बोहरा पदेन सदस्य, शिक्षक प्रतिनिधिमा लेखनाथ भण्डारी र सदस्य सचिवमा प्राध्यापक टिकाराम पौडेल रहेका छन्।

यसैक्रममा, शिक्षक–अभिभावक संघको नयाँ समिति पनि गठन गरिएको छ। सुन बोहराको अध्यक्षतामा समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

गाउँपालिकाले साउन ४ गतेभित्र सबै विद्यालयमा समिति गठन गरी शिक्षा शाखामा नामावली पेश गर्न निर्देशन दिएको भए पनि, रामदेव मा.वि.मा सर्वसम्मत सहमति नजुटेकाले अन्ततः चुनावी प्रक्रियाबाट समिति गठन गरिएको हो। गाउँपालिकाभित्र चुनावी माध्यमबाट वि.व्य.स. गठन गर्ने यो एक मात्र विद्यालय बनेको छ।

नयाँ समिति गाउँ शिक्षा ऐन, २०७८ को दफा १३ को उपदफा १ र ७ बमोजिम गठन गरिएको हो।