कर्णालीका विद्यार्थी लक्षित जिभिएन स्कुलमा छात्रवृत्तिको सुविधा

सुर्खेत ।  कर्णाली क्षेत्रका अब्बल, विकट र विपन्न विद्यार्थीलाई लक्षित गर्दै नेपालगन्जको जिभिएन माध्यमिक विद्यालय, बाँकेले विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ।

२०८२ साल असारमा विद्यालय र सम्बन्धित पक्षबिच भएको शैक्षिक सम्झौता अनुसार कर्णालीका पाँच जना विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण रूपमा निःशुल्क पढ्ने अवसर पाउने छन्। यी विद्यार्थीहरू ‘अब्बल, विकट र विपन्न’ श्रेणीमा छनोट गरिने विद्यालयले जनाएको छ।

यसका साथै अब्बल, मिहिनेती र जेहेन्दार श्रेणीमा छनोट भएका थप पाँच जना विद्यार्थीलाई कक्षा १२ सम्म ५० प्रतिशत शुल्क छुटको सुविधा दिइने विद्यालयले स्पष्ट पारेको छ।

विद्यालयका अनुसार यो कार्यक्रमले दुर्गम क्षेत्रका प्रतिभाशाली तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

पश्चिम नेपालको एक मात्र रोजाइमा पर्ने सफल शैक्षिक संस्थाका रूपमा जिभिएन माध्यमिक विद्यालय नेपालगन्जले कर्णाली क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै यस्तो छात्रवृत्ति कार्यक्रम ल्याएको जानकारी दिएको छ ।